ब्लड डोनर्स एसोसिएशन नेपाल (ब्लोदान) को २९औं साधारणसभा मिति २०८३ असोज १८ गते नेपाः वेङ्क्वेट, खुसिबुँमा सम्पन्न भयो ।
ब्लोदानका केन्द्रीय अध्यक्ष राजेश श्रेष्ठको सभापतित्व तथा बागमती प्रदेशका अर्थ मामिला तथा योजना मन्त्री सरल सहयात्री पौडेलज्यूको प्रमुख आतिथ्यतामा सम्पन्न भएको सो सभाको विशेष अतिथिमा ब्लोदानका संरक्षक तथा मेडिया एलायन्स नेपालका अध्यक्ष भाष्कर राज राजकर्णिकार, अतिथिहरूमा ब्लोदानका संस्थापक, वरिष्ठ सल्लाहकार तथा सल्लाहकार समितिका संयोजक सूर्यकुमारी श्रेष्ठ, नेरेसो, केन्द्रीय रक्तसञ्चार सेवाका प्रमुख डा. प्रकाश यादव, काठमाडौं बचत तथा ऋण सहकारी संघ लिमिटेडका (कास्कून) अध्यक्ष दीपक पनेरू, नेरेसो ललितपुरका सभापति बाबुराजा महर्जन, नेरेसो भक्तपुरका सभापति रामेश्वर थापा लगायतका हुनुहुन्थो ।

बागमती प्रदेशका अर्थ मामिला तथा योजना मन्त्री सरल सहयात्री पौडेलज्यूले पानसमा दीप प्रज्वलन गरी उद्घाटन गर्नुभएको सो सभामा २०७२ साल बैशाख १२ को भूकम्पमा परि रक्तदान गर्दागर्दै दिवंगत हुनुभएका रक्तदाता लगायतका ज्ञात अज्ञात रक्तदाताहरूप्रति श्रद्धाञ्जली स्वरूप एक मिनेट मौनधारण गरिएको थियो ।
ब्ब्लोदानका संस्थापक, वरिष्ठ सल्लाहकार तथा सल्लाहकार समितिका संयोजक सूर्यकुमारी श्रेष्ठले आफ्नो भनाई राख्ने क्रममा वि.सं. २०४६ मा एसोसिएशन गठनको अवस्थाबारे प्रकाश पार्नु भएको थियो ।
ने.रे.सो. केन्द्रीय रक्तसञ्चार सेवाका प्रमुख डा. प्रकाश यादवले रगत व्यवस्थापनको विषयमा केन्द्रीय रक्तसञ्चार सेवा र ब्लोदान बिचको सम्बन्ध र सहकार्यलाई अझ परिष्कृत गर्दै लाने बताउनु भयो ।
कास्कून अध्यक्ष दीपक पनेरूले रक्तदान अभियानमा सहकारीहरुको योगदानबारे बताउनु हुँदै आगामी दिनमा मानव कल्याणकारी सेवा रक्तदानको क्षेत्रमा कास्कूनको तर्फबाट निरन्तर सहयोग रहने र कास्कूनमा आवद्ध काठमाडौं जिल्लाभरिका बचत तथा ऋण सहकारी संस्थाहरूसंग समन्वय गर्दै आवश्यक सहजीकरण गर्ने बताउनु भयो ।
यस कार्यक्रममा ब्लोदानका केन्द्रीय सदस्य राधाकुमारी श्रेष्ठलाई ब्लोदान अफ दि इयर, ब्लोदानका वरिष्ठ सल्लाहकार तथा पुर्वीभेगीय क्षेत्रका संस्थापक अध्यक्ष लोकनारायण सुबेदी तथा नेरेसो केन्द्रीय रक्तसञ्चार सेवाका ल्याब टेक्निसियन बसन्त अर्याल र अर्जुन मैनालीको पुस्तकबाट अभिप्रेरित भई रक्तदान शुरु गर्नुभएका नवराज मैनालीलाई सम्मान गरेको थियोे । साथै सिन्धुपाल्चोकबाट प्रकाशन हुँदै आइरहेको सर्वपक्ष राष्ट्रिय दैनिकका अध्यक्ष सुरेशराम कसजुलाई उत्कृष्ट पत्रकार सम्मान प्रदान गरिएको थियो ।

साेहि कार्यक्रममा सम्मानित वरिष्ठ सल्लाहकार लोकनारायण सुबेदीले रक्तदान अभियान विश्वव्यापी भएकोले यसमा कुनै जाति भाषा लिङ्ग लगायतका विभेद नहुने बताउनु भयो ।
ब्लोदानका संरक्षक भाष्करराज राजकर्णिकारले बागमती प्रदेश सरकारले आवश्यक बजेटको व्यवस्था गरिदिन सकेमा यस क्षेत्रलाई अझ सक्रिय रूपमा अगाडि बढाउन सकिने बताउनु हुँदै केन्द्रीय रुक्तसञ्चार सेवा भवनमा ब्लोदानको कार्यालय सञ्चालनको लागि एउटा कोठा सम्म व्यवस्था नहुनु दुःखको कुरा भएको बताउनु भयो । यसको लागि बागमती प्रदेशले निर्देश गर्नुपर्ने तर्फ ध्यानाकर्षण गर्नुभयो ।
बागमती प्रदेश आर्थिक मामिला तथा योजना मन्त्री सरल सहयात्री पौडेलले प्रमुख अतिथिको मन्तव्य राख्ने क्रममा ब्लड डोनर्स एसोसिएसन नेपाल (ब्लोदान) ले आर्थिक श्रोत व्यवस्थापन र आवश्यक वि
षयहरूमा ठोस योजना ल्याएमा प्रदेश सरकारले सहयोग गर्ने प्रतिवद्धता व्यक्त गर्दै स्वयंसेवी रक्तदानको क्षेत्रको विषयमा सोच बनाएको बताउदै ब्लोदानसंग छलफल गरी आवश्यक नीति बनाएर सहयोग गर्न आफू सकारात्मक रहेको बताउनु भयो ।
ब्लोदानको इतिहास औँल्याउँदै सभापति राजेश श्रेष्ठले रक्तदाता अभियन्ता र सरोकारवालालाई धन्यवाद व्यक्त गर्दै प्रमुख अतिथिको प्रतिवद्धता स¥हाहनीय भएको बताउनु भयोे ।
ब्लोदानको नियमित आर्थिक श्रोतको अभावले विभिन्न संस्थाहरूबाट र व्यक्तिहरूबाट प्राप्त सहयोगकै भरपर्नुपरेको बताउनु भयो । साथै गुणस्तरीय रगतको लागि ब्लड बैँकहरूको नियमित निरीक्षण, अनुगमन हुन नसकेको बारेमा सरकार र सरोकार वालाको ध्यानाकर्षण गराउनु भएको थियो ।
रक्तदानको क्षेत्रमा आपसी सहयोग र सहकार्यलाई निरन्तरता दिंदै हरेक हप्ता बिदा नभएको दिन रक्तदान कार्यक्रम आयोजना गर्न ब्लोदान र कास्कून बीच सम्झौता समेत भएको छ ।
सो सभाको बन्द सत्रमा महासचिव मचाकाजी महर्जनले सांगठनिक प्रतिवेदन र कोषाध्यक्ष पुरुषोत्तम खत्रीले आर्थिक प्रतिवेदन पेश गर्नुभएकोमा दुबै प्रतिवेदन सर्वसम्मतिले पारित गरिएको थियो ।
ब्लोदानका महासचिव मचाकाजी महर्जनले संचालन गर्नुभएको सो कार्यक्रममा उपाध्यक्ष उज्वल के.सी.ले स्वागत मन्तव्य राख्नुभएको थियो ।