मिति २०८३ कार्तिक ८ गते आइतबारका दिन ब्लड डोनर्स एशोसिएशन नेपाल (ब्लोदान) का केन्द्रीय सदस्य स्व. किशोर राज वन्तको श्रद्धाञ्जली सभा भृकुटीमण्डपस्थित केन्द्रीय रक्तसञ्चार सेवाको सभाहलमा सम्पन्न भयो ।
गत २०८३ असोज २७ गते मङ्गलबारका दिन उपचारको क्रममा स्वर्गारोहण हुनुभएको आज १३ दिनको पुण्यतिथिमा आयोजित सो कार्यक्रममा दिवंगत किशोर राज वन्तको परिवार, ब्लोदानका संस्थापक, वरिष्ठ सल्लाहकार एवं सल्लाहकार समिति संयोजक सूर्यकुमारी श्रेष्ठ, सल्लाहकारहरू, नेपाल रेडक्रस सोसाइटी, केन्द्रीय रक्तसञ्चार सेवाका वरिष्ठ ल्याब टेक्निसियन संजिव यादव, ब्लोदान केन्द्रीय कार्यसमिति, ब्लोदान काठमाडौं जिल्ला शाखा, ब्लोदान ललितपुर जिल्ला शाखा, ब्लोदान काठमाडौं मध्यक्षेत्र, टोखा नगर समितिका पदाधिकारी एवं सदस्यज्यूहरु, विभिन्न संघसंस्थाका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो ।
कार्यक्रममा दिवंगत आत्माको चीर शान्तिको कामना गर्दै २ मिनेट मौनधारण गर्नुका साथै उपस्थित महानुभावहरूले स्व. किशोर राज वन्तको तस्वीरमा पुष्प चढाई श्रद्धाञ्जली अर्पण गरिएको थियो ।
सभामा महासचिव मचाकाजी महर्जनले कार्यक्रम संचालन गर्दै किशोर राज वन्तको संक्षिप्त जीवनी प्रस्तुत गर्नुभएको थियो । सो सभामा ब्लोदानका केन्द्रीय अध्यक्ष राजेश श्रेष्ठ, केन्द्रीय रक्तसञ्चार सेवाका वरिष्ठ ल्याब टेक्निसियन संजिव यादव, ब्लोदानका संस्थापक, वरिष्ठ सल्लाहकार सूर्यकुमारी श्रेष्ठ, ब्लोदानका निवर्तमान अध्यक्ष ई. सानु बाबु प्रजापति, ब्लोदान काठमाडौं जिल्ला शाखाका अध्यक्ष तिलक बहादुर अधिकारीले श्रद्धाञ्जली मन्तव्य राख्दै किशोर राज वन्तको गुणास्मरण गर्दै श्रद्धाञ्जली अर्पण एवं शोकसन्तप्त परिवारजनमा समवेदना व्यक्त गर्नुभयो ।
कार्यक्रमको अन्तमा स्व. किशोर राज वन्तको परिवारको तर्फबाट जेष्ठ सुपुत्र उद्दार वन्तले आफ्नो बुवालाई सम्झने कार्यक्रम गरिदिनु भएकोमा धन्यवाद दिंदै बुवाले विगत लामो समय देखि गर्दै आउनुभएको रक्तदान कार्यक्रमलाई निरन्तरता दिनुहुन अनुरोध गर्नुभयो । 



