ब्लड डोनर्स एसोसियसन नेपाल (ब्लोदान) को २८औं वार्षिक साधारणसभा सम्पन्न
————————————————————-
काठमाडौ भाद्र १४ । रक्तदानलाई नियमित जीवनशैलीमा बदल्दै सुरक्षित रगत व्यवस्थापनलाई अझ प्रभावकारी बनाउने प्रतिबद्धता सहित ब्लड डोनर्स एसोसियसन नेपाल (ब्लोदान) को २८औं वार्षिक साधारणसभा काठमाडौंको खुसिबुँ स्थित नेपाः ब्याङ्क्वेटमा शनिबार सम्पन्न भएको छ ।
साधारणसभामा उदघाटन तथा बन्द सत्रगरी दुईसत्रमा सञ्चालन भएको थियो । ब्लोदानका केन्द्रीय अध्यक्ष राजेश श्रेष्ठको सभापतित्वमा भएको उदघाटन सत्रमा काठमाडौं महानगरपालिकाकी उपप्रमुख सुनिता डंगोलको प्रमुख आतिथ्यता रहेको थियो ।
साथै ब्लोदानका निवर्तमान अध्यक्ष ई. साबु बाबु प्रजापति, नेरेसो भक्तपुर जिल्ला शाखाका सभापति परशुराम पाण्डे, कान्तिपुर रक्तसंचार सेवाका इन्चार्ज टिकाराम मण्डल, नेरेसो केन्द्रीय रक्तसंचार सेवाका उप निर्देशक डा. प्रकाश यादव, कास्कुनका महासचिव निरञ्जन सेढाई अतिथिको रुपमा हहुनुहुन्थ्यो । कार्यक्रममा रक्तसंचार सेवा तथा रक्तदानको क्षेत्रमा काम गर्ने विभिन्न सामाजिक संघसंस्था, स्वास्थ्य क्षेत्रका प्रतिनिधि तथा स्वयंसेवी रक्तदाताहरूको उपस्थिति रहेको थियो ।
साधारणसभामा रक्तदान अभियानलाई अझ प्रभावकारी बनाउनु पर्ने, संगठन सुदृढीकरण गर्ने, विधान संशोधन मार्फत संस्थालाई समय सापेक्ष बनाउनुपर्ने र आगामी वर्षमा देशभर रक्तदान प्रवद्र्धनका लागि ठोस योजना अघि बढाउने विषयमा विस्तृत छलफल भएको थियो ।
यस अवसरमा त्यस्तै ब्लोदानका केन्द्रीय सदस्य किशोर राज वन्तलाई ब्लोदान अफ दि इयरबाट सम्मानित गरिएको थियो भने ब्लोदानका ब्लोदानका सल्लाहकार मिलन श्रेष्ठ तथा नेपाल रेडक्रस सोसाइटी केन्द्रीय रक्तसंचार सेवाका जनसम्पर्क अधिकृत सन्देश थापालाई पनि सम्मान गरिएको थियो । साथै रक्तदानको क्षेत्रमा सहयोग पु¥याएकोमा स्वयंसेवी मनिष तण्डुकारलाई सम्मान पत्रद्वारा सम्मान गरिएको थियो ।
साथै ब्लड फण्डमा सहयोग गर्ने ब्लोदानका केन्द्रीय सदस्य बालकृष्ण श्रेष्ठलाई मायाको चिनो तथा जनक कुमार खड्का तथा सोहन रंजितलाई आजिवन सदस्यताको प्रमाणपत्र प्रदान गरिएको थियो । साथै अध्यक्ष राजेश श्रेष्ठ प्रमुख अतिथि डंगोललाई मायाको चिनो प्रदान गरिएको थियो ।
कार्यक्रमका प्रमुख अतिथि सुनिता डंगोलले शुभकामना मन्तब्य राख्दै रक्तदान समाजसेवाको सर्वोच्च कार्य भएको बताउँदै ब्लोदानले अहिलेसम्म गरेको रक्तदान अभियानको प्रसंशा गर्दे ब्लोदान र यसमा आवद्ध संस्थाहरुलाई अझै सक्रियताका साथ अघि बढन अनुरोध गर्नुभयो ।
कार्यक्रममा निर्वतमान अध्यक्ष तथा बरिष्ठ सल्लाहकार ई. सानु बाबु प्रजापतिले ब्लोदानको इतिहास, उपलब्धिहरू र कोभिड महामारीका चुनौतीपूर्ण दिनमा ब्लोदानले खेलेको भूमिकाबारे प्रकाश पार्दै संकटका घडीमा रक्तदाता र स्वयंसेवकहरूको अमूल्य योगदानको चर्चा गर्नुुभयो । त्यस कार्यक्रमका अन्य वक्ताहरुले ब्लोदानको गतिविधि स्वयंसेवी रक्तदानको क्षेत्रमा महत्वपूण रहेको बताउनु हुन्दै शुभकामना दिनुभयो ।
त्यसैगरी ब्लोदानका वर्तमान अध्यक्ष तथा कार्यक्रमका सभापति राजेश श्रेष्ठले सुरक्षित रगत जीवनरक्षक भएको उल्लेख गर्दै संस्थापक अग्रजहरुको योगदानलाई स्मरण गर्नुभयो । उहाँले ब्लोदानले “रक्तदान जीवनदान” नारा सहित २०४४ सालमा सुरुआत गरेको अभियान आज हजारौं स्वयंसेवी रक्तदाताको सक्रिय सहभागिता सहित राष्ट्रिय स्तरमै सबल अभियान बनेको उल्लेख गर्दै अभियान लाई अझै व्यापक बनाउन पर्नेमा जोड दिनुभयो । आगामी दिनमा सुरक्षित रगतको सुनिश्चितता, आपतकालीन सहकार्य र अन्तर्राष्ट्रिय संस्थाहरूसँगको सहकार्यलाई अझ मजबुत बनाउन प्रतिबद्ध रहेको बताउनुभयो ।
साधारणसभाको बन्दसत्रमा महासचिव मचाकाजी महर्जनद्वारा प्रस्तुत ब्लोदानको आर्थिक वर्ष २०८१/८२ को वार्षिक प्रगति प्रतिवेदन तथा चालु वर्षको कार्ययोजना तथा कोषाध्यक्ष पुरुषोत्तम खत्रीले प्रस्तुत गर्नु भएको वित्तीय प्रतिवेदन, लेखा परिक्षण प्रतिवेदन साथै विधान संशोधन समिति संयोजक तथा उपाध्यक्ष केशव महर्जनले प्रस्तुत गर्नुभएको बिधान संसोधनको प्रस्ताव बृहत छलफल सहित सर्वसम्मत पारित गरिएको थियो ।
सो कार्यक्रमका दुबै सत्र ब्लोदानका उपाध्यक्ष उज्वल के.सी.ले संचालन गर्नुभएको थियो भने महासचिव मचाकाजी महर्जनले स्वागत मन्तव्य राख्नु भएको थियो ।