About Us

ब्लड डोनर्स एशोसिएशन नेपाल (ब्लोदान) कुनै पनि उपचारको क्रममा रगत आवश्यक पर्ने विरामीहरूलाई सहजरूपमा स्वच्छ, स्वस्थ्य रगत विना शोधभर्ना उपलब्ध गर्न सहयोग गर्ने हेतुले स्वयंसेवी रक्तदाता तथा रक्तदान कार्यक्रम आयोजना गर्ने संघसंस्थाहरूको छाता संगठनको रूपमा विगत तीन दशक देखि निरन्तररूपमा अघि बढ्दै आइरहेको स्वयंसेवी संस्था हो । रगतको अभावमा कुनै पनि विरामीका अकालमा मृत्यु नहोस् भन्ने मूल नारालाई सार्थक बनाउन ‘विना शोधभर्ना रगत उपलब्ध गराउन स्वयंसेवी रक्तदान अभियानमा सरीक होऔं’भन्ने आह्वानका साथ रगत तथा रक्तदानको क्षेत्रमा विभिन्न कार्यक्रमहरूको आयोजना गर्दै सक्रियरूमा लाग्दै आइरहेको एक सामाजिक संस्था हो ।

स्थापना  :

विज्ञान तथा प्रविधिको विकासले प्रायः सबै वस्तुको विकल्प तयार गरिसकेको र गर्दैगरेको अवस्थामा पनि मानव जीवनको लागि नभइ नहुने रगतको विकल्प तयार गर्न नसकेको सर्वविदितै छ । त्यसकारण कुनै पनि विरामीहरूको उपचारको क्रममा रगतको आवश्यक हुन गएमा अर्काे स्वस्थ मानिसलाई रक्तदान गराउनु बाहेक अरू कुनै पनि उपाय छैन ।

स्वयंसेवी रक्तदाताहरूको कमीको कारण विरामीका आफन्तले पेशेवर रक्तदाता (भरिया वा अन्य व्यक्ति) हरूबाट रगत खरिद बिक्रि हुने समयमा ब्लड डोनर्स क्लबको रूपमा स्थापित यस संस्थाले रगत तथा रक्तदान सम्बन्धी विभिन्न जनचेतनामूलक तथा उत्प्रेरणामूलक कार्यक्रम तथा गतिविधिहरु संचालन गरी त्यस्ता पेशेवर रक्तदाताहरुलाई पूर्णरुपमा विस्थापित गर्न सफल भएको थियो ।

सोहि संस्था विभिन्न संस्था राष्ट्रिय रक्त कार्यक्रममा स्वयंसेवी रक्तदान गर्ने संस्था तथा रक्तदाताहरूको बीच उत्प्रेरणा तथा समन्वयको लागि अग्रणी भूमिका निर्वाह गर्दै हाल ब्लड डोनर्स एशोसिएशन नेपाल (ब्लोदान)को नाममा संचालनमा रहेको छ ।

आवद्धता :

१. सदस्य –  राष्ट्रिय निर्देशक समिति, राष्ट्रिय रक्तसंचार नीति, राष्ट्रिय रक्तसंचार व्यूरो

२. सदस्य –  रक्तदान गर्ने संघसंस्थाहरुको अन्तर्राष्ट्रिय महासंघ (International Federation of Blood Donor Organizations-IFBDO)

यस एशोसिएशनका उद्देश्यहरू निम्नानुसार छ ।

क)    देशमा रगतको आवश्यकता पर्ने सबैलाई विना सोधभर्ना रगत उपलव्ध गराउन सक्ने अवस्था बनाउँदै लैजाने ।

ख)    समाजमा छरिएर रहेका रक्तदाता संघ संस्थाहरु र स्वयंसेवी रक्तदाताहरुमा आपसी सहयोगमा वृद्धि गरी नेपाल सरकार, रेडक्रस रक्त संचार सेवा लगायत राष्ट्रिय रक्त कार्यक्रमको सरोकार पक्षको उद्देश्यहरु पुर्ति गर्न थप मद्दत गर्दै लाने ।

ग)     शतप्रतिशत स्वयंसेवी सुरक्षित रक्तदान प्राप्तगर्न रक्तदान सम्बन्धी विभिन्न उत्प्रेरणाका कार्यक्रमहरु संचालन गर्ने/गराउने ।

घ)     रक्तदान सम्बन्धी चेतना जनमानसमा अभिवृद्धि गराउने ।

ङ)     अन्तर्राष्ट्रिय/राष्ट्रिय संस्थाहरुमा प्रतिनिधित्व गर्ने र रक्तदान सम्बन्धी सम्पूर्ण कार्यहरु गर्ने/गराउने ।

च)     रगत तथा रक्तदान सम्बन्धी प्रचार प्रसार, श्रव्य दृष्य सामाग्रीहरु तयार तथा वितरण गर्ने ।

छ)    संस्था मुनाफारहित जनहितकारी सामाजिक उद्देश्यको हुनेछ ।

ज)    स्वयंसेवी रक्तदाता तथा रक्तसंचार केन्द्रलाई सहयोग पु¥याउन एम्बुलेन्स सेवा संचालन गर्ने/गराउने ।

झ)    आकस्मिक रक्त संकलन कार्य गर्नको मोबाइल भ्यान संचालन गर्ने÷गराउने

ञ)     रगतको माध्यमद्वारा सर्नसक्ने एचआईभी र एड्स, हेपाटाइटिस लगायत सरुवा रोगको रोकथाम, न्यूनिकरण लगायत आवश्यक कार्यक्रम संचालन गर्ने

ट)     धुम्रपान, मद्यपान, लागुपदार्थ दुर्वेशन तथा क्यान्सर लगायतका घातक रोगहरुले रगतको मागलाई वृद्धि गर्ने भएकोले धुम्रपान, मद्यपान, लागुपदार्थ दुर्वेशनलाई निरुत्साहित गर्ने किसिमको कार्यक्रम तथा क्यान्सर लगायतका घातक रोगहरुको न्यूनिकरणको कार्यक्रमहरु संचालन गर्ने

यस एशोसिएशनले गर्दै आइरहेको कामहरू :

जनचेतनात्मक कार्यहरू :

रगतको माग अनुसार आपूर्ति हुन नसकेमा पुनः पेशेवर रक्तदाताहरू वृद्धि हुने सम्भावना अझ पनि छ र यस्तो भएमा विरामीले गुणस्तरिय तथा स्वस्थ रगत नपाउन सक्दछ । यसबाट बच्न तथा बचाउन जनचेतनामा अभिवृद्धि ल्याएर स्वयंसेवी रक्तदान अभियानमा सरिक गराउने बाहेक अर्काे उपाय हुँदैन । त्यसको लागि ब्लोदानले विभिन्न जनचेतनामूलक कार्यहरू गर्दै आइरहेको छ ।

क) अन्तरक्रिया कार्यक्रम :

यस कार्यक्रम अन्तर्गत रक्तदान कार्यक्रम आयोजना गर्ने संघसंस्थाहरू, ब्लोदान तथा रक्तसंचार सेवाबीच अन्तरक्रिया गरिन्छ । यस अन्तरक्रिया कार्यक्रममा रक्तदान सम्बन्धी विभिन्न जानकारी लिनेदिने, यसमा भएका समस्या तथा समाधानको लागि सल्लाह एवं सुझावहरू प्राप्त हुने गर्दछ ।

ख) विद्यालय स्तरिय कार्यक्रमहरू :

विद्यालयमा अध्ययनरत विद्यार्थीहरू भविष्यका रक्तदाताहरू हुन् । समयमै उनिहरूलाई रगत तथा रक्तदान सम्बन्धी जानकारी दिन सकेमा उनिहरूलाई समयमै रक्तदान गर्न प्रोत्साहन गर्न सकिने विषयलाई मनन गर्दै चित्रकला प्रतियोगिता, वक्तृत्वकला प्रतियोगिता, निबन्ध प्रतियोगिता विद्यालय स्तरिय विभिन्न कार्यहरू गर्दै आइरहेको छ । विद्यालयस्तरमा गरिने यस्तो प्रतियोगिताले उनिहरूमा लुकेका प्रतिभा प्रस्फुतितहुने र रक्तदान सम्बन्धी अध्ययन गर्ने मौका मिल्न जाने गरेको छ । जसबाट रक्तदान कार्यमा अभिवृद्धि भएको छ ।

ग) रक्तदान जनचेतना र्‍याली :

रगत तथा रक्तदान सम्बन्धी जनमानसमा अभिवृद्धि ल्याउनको लागि ब्लोदानले विश्व रक्तदाता दिवसको अवसरमा रक्तदान कार्यक्रम आयोजना गर्ने संघसंस्थाहरू, विद्यालय तथा कलेजका विद्यार्थीहरू, स्वयंसेवी रक्तदाता महानुभावहरू तथा अन्य रक्तदानसंग सरोकार राख्ने महानुभावहरूको सहभागितामा जनचेतना र्‍याली आयोजना गर्ने गरेको छ । यस कार्यक्रमबाट पनि रक्तदान कार्यमा वृद्धि आएको छ ।

घ) अभिमुखिकरण कार्यक्रम :

यस कार्यक्रम अन्तर्गत विभिन्न संघसंस्थाका प्रतिनिधिहरू तथा विद्यालय एवं कलेजका विद्यार्थीहरूलाई रक्तदान सम्बन्धी अभिमुखिकरण कार्यक्रम आयोजना गरिन्छ । यस कार्यक्रममा रगत तथा रगत व्यवस्थापन सम्बन्धी जानकारीहरू दिने गरिन्छ ।

ङ) प्रचार प्रसार/प्रकाशन :

ब्लोदानले रक्तदाताहरूमा जनचेतना जगाउन तथा उत्प्रेरणा जगाउन विभिन्न प्रचारप्रसारका कार्यहरू गर्दै आएको छ । जस्तै क्यालेण्डर, स्मारिका, बुलेटिन, ब्रोसर, पर्चा तथा डायरी प्रकाशन आदि गर्दै आएको छ भने विभिन्न संचार माध्यम मार्फत प्रचार प्रसार पनि हुँदै आएको छ ।

उत्प्रेरणात्मक कार्यहरू :

यस ब्लोदानले रक्तदाताहरूलाई रक्तदान गर्ने कार्यमा अझ बढी सक्रिय भएर स्वयंसेवी रक्तदान कार्यमा सहयोग गर्न उत्प्रेरणा गर्ने हेतुले विभिन्न कार्यहरू पनि गर्दै आइरहेको छ ।

  • रक्तदाताहरूलाई प्रदान गरिने डोनर पीन

स्वयंसेवी रक्तदाता उत्प्रेरणा कार्यक्रम अन्तर्गत स्वयंसेवी रक्तदाताहरूलाई रक्तदान गरेको पटकको आधारमा विभिन्न डोनर पीनबाट सम्मानित गरिन्छ ।

स्वयंसेवी रक्तदाता डायमण्ड डोनर पीन गोल्डेन डोनर पीन सिल्भर डोनर पीन
पुरूष रक्तदाता १०० पटक ५० पटक २५ पटक
महिला रक्तदाता ५० पटक २५ पटक १० पटक
नेगेटिभ समूह रक्तदाता ५० पटक २५ पटक १० पटक
  • संघसंस्थाहरूलाई प्रदान गरिने रनिङ्ग शील्डहरूयस अन्तर्गत रक्तदान कार्यक्रम आयोजना गर्ने संघसंस्थाहरूलाई रक्त संकलनको आधारमा विभिन्न १३ विधाका रनिङ शील्डबाट सम्मानित गरिन्छ ।

 

 


ग) विश्व रक्तदाता दिवस :

स्वयंसेवी रक्तदाता तथा रक्तदान कार्यमा निरन्तररूपमा लागिरहेका विभिन्न महानुभावहरू तथा संघसंस्थाहरूलाई धन्यवाद दिन रगतको समूह पत्तालगाउने डा. कार्ल ल्यान्डस्टिनरको जन्मदिन १४ जूनको अवसर पारी विश्व रक्तदाता दिवस मनाउँदै आइरहेको छ । यस अवसरमा वर्षभरि रगत तथा रक्तदान क्षेत्रमा आफ्नो अमूल्य सहयोग गर्ने महानुभावहरू तथा संघसंस्थाहरूलाई डोनर पीन, रनिङ्ग शील्ड प्रदान एवं सम्मान गर्ने गरिन्छ । नेपालमा ब्लड डोनर्स एशोसिएशन नेपाल (ब्लोदान)ले सन् २००४ देखि नैं निरन्तररूपमा सप्ताहव्यापी कार्यक्रमहरू आयोजना गर्दै आइरहेको छ ।

संस्थागत विकास :

ब्लोदानले रगतको व्यवस्थापन क्षेत्रमा अझ बढी सक्रियरूपमा सहभागी भई रगत आवश्यक पर्ने विरामीहरूलाई सहजरूपमा विना शोधभर्ना रगत उपलब्ध गराउन सहयोग पु¥याउने हेतुले भातृ संगठन, जिल्ला शाखाहरू एवं क्षेत्रीय इकाइहरूको विस्तार गरेको छ, जुन यसप्रकार छ ।

भातृसंस्थाहरू :

क) फ्रेण्डस् अफ आर एच नेगेटिभ ब्लड ग्रुप :

यस समूहले नेगेटिभ समूहका रगत आवश्यक पर्ने विरामीहरूलाई रगतको व्यवस्थापन गर्ने कार्यमा सहयोग पुर्‍याउन ब्लोदानको भातृ संगठनको रुपमा  फ्रेण्डस् अफ आर एच नेगेटिभ ब्लड ग्रुप गठन गरिएको छ । यस ग्रुपले नेगेटिभ रक्त समूहका रक्तदाताहरूलाई आवश्यक परेको बेलामा सम्पर्क गरी रक्तदान गराई आवश्यक रगत व्यवस्थापन गर्दछ ।

ख) क्लब २५ नेपाल :

यस समूहले कलेजस्तरका विद्यार्थीहरू एवं अन्य युवावर्गहरूलाई रगत तथा रक्तदान कार्यक्रम सम्बन्धी विभिन्न जानकारीमूलक कार्यक्रमहरूको आयोजना गरी रक्तदान कार्यमा उत्प्रेरणा जगाउने कार्य गर्दछ र रक्तदान अभियानमा सरिक हुन आह्वान गर्नुका साथै विभिन्न अभिमुखिकरण तालिम प्रदान गर्ने कार्य गरिन्छ । यस समूहको मुख्य उद्देश्य युवावर्गलाई स्वयंसेवी रक्तदान कार्यमा अघि बढ्न मद्दत गर्ने हो ।

ग) जिल्ला शाखाहरू :

ब्लोदानले देशका विभिन्न भागमा रहेका विरामीहरूलाई सकेसम्म सोहि स्थानबाट रगतको व्यवस्थापन होस् भन्ने हेतुले विभिन्न जिल्लामा शाखाहरू स्थापना गरिएको छ । यसबाट विरामीको आफन्तलाई समयका साथसाथै आर्थिकरूपमा समत बचत हुने अपेक्षा लिएको छ । हाल ब्लोदानको काठमाडौं, ललितपुर, भक्तपुर, काभ्रे, सुर्खेत, नवलपरासी, कपिलवस्तु, रुपन्देही, गोरखा तथा पर्सा जिल्लाहरूमा शाखाहरू रहेको छ । त्यस स्थान तथा वरिपरिका अस्पतालहरूमा आवश्यक पर्ने रगतको व्यवस्थापन गर्नुका साथै जनचेतनामूलक तथा उत्प्रेरणात्मक कार्यहरू पनि गर्दै आइरहेको छ ।

घ) क्षेत्रीय इकाइहरू :

काठमाडौंमा जनसंख्या, स्वास्थ्य केन्द (अस्पताल, नर्सिङ्गहोम)हरूको स्थापनामा वृद्धि एवं केन्द्रिकृत उपचार पद्धतिका साथै रगत आवश्यक पर्ने रोगहरूमा आएको वृद्धिको कारणले रगतको मागमा पनि वृद्धि आएको छ । साथै काठमाडौंमा सवारी साधनहरूको चापले गर्दा समयमैएक ठाउँबाट अर्का ठाउँमा पुग्न समय लाग्न सकिने भएको कारणले समयमै रगतको व्यवस्थापन गर्न कठिनाई हुने भएकोले विरामी भएको ठाउँबाट नैं आवश्यक रगतको व्यवस्थापन होस् भन्ने हेतुले विभिन्न क्षेत्रमा इकाइहरू गठन गरिएको छ ।

वेबसाईटको स्थापना :

आजको संचार क्षेत्रमा आएको विकासलाई रक्तदानको क्षेत्रमा समेत प्रयोग गर्दै रगत आवश्यक पर्ने विरामीलाई रगतको व्यवस्थापन गर्न सजिलो होस् भन्ने हेतुले ब्लोदानले वेबसाइट www.blodan.org को स्थापना गरी सहयोग पुर्‍याउँदै आइरहेको छ । यस वेबसाइटमा रक्तदाताहरूको नाम, ठेगाना, सम्पर्क नं., रक्तदाता रहेको जिल्लाको नाम समेत रहेको हुँदा आफुलाई पायक पर्ने क्षेत्रको रक्तदाताहरूलाई सम्पर्क गरी रगतको व्यवस्थापन गर्न सकिन्छ । साथै यस वेबसाइटमा विभिन्न जानकारीहरू पनि राखिएको छ । साथै Blood Member Nepal नामको Mobile App पनि स्थापना गरिएको छ ।

राष्ट्रिय रक्तदाता दिवस : नेपालमा व्यक्तिगतरूपमा रक्तसंचार सेवाको शुरूवात वि. सं. २००० बाट भएको भएतापनि संस्थागतरूपमा वि.सं. २०२३ सालबाट शुरूभएको हो । वि.सं. २००० सालमा नेपालको इतिहासमा पहिलोपल्ट स्वयंसेवी रक्तदान गर्नुहुने स्व. दयावीर सिं कंसाकारको सम्मानमा ‘स्वयंसेवी रक्तदाता तथा संस्थालाई सम्मान गरौं’ भन्ने नाराका साथ रगत तथा रक्तदानको क्षेत्रमा भइरहेका विभिन्न गतिविधिहरूमा संलग्न स्वयंसेवी महानुभावहरू तथा अन्य स्वयंसेवीहरूलाई समेत सहभागी गराई नेपालमा राष्ट्रिय रक्तदान दिवस मनाउँदै आइरहेको छ ।

Search Blood Group

Male       Female

उपयोगी लिङ्कहरू