कामपा -२ मा रक्तदान सम्बन्धी उत्प्रेरणामूलक कार्यक्रम सम्पन्न


मिति २०८० वैशाख २३ गते काठमाडौं महानगरपालिकाको सहयोग तथा ब्लड डोनर्स एशोसिएशन नेपाल (ब्लोदान)को आयोजनामा हुँदै आइरहेको वडास्तरीय स्वयंसेवी रक्तदान सम्बन्धी उत्प्रेरणामूलक कार्यक्रम २ नं. वडामा सम्पन्न भयो ।
ब्लोदानका केन्द्रीय अध्यक्ष ई. सानु बाबु प्रजापतिको सभापतित्वमा भएको सो कार्यक्रमका अतिथिहरुमा का.म.पा. २ नं. वडाका अध्यक्ष तथा ब्लोदान काठमाडौं मध्य क्षेत्रका सल्लाहकार श्री राजेन्द्रकुमार श्रेष्ठ, सोही वडाका सदस्यद्वय पदमकाजी महर्जन र इश्वरी परियार, नेपाल रेडक्रस सोसाइटी, केन्द्रीय रक्तसञ्चार सेवाका जनसम्पर्क अधिकृत राम श्रेष्ठ, ब्लोदान काठमाडौं जिल्ला अध्यक्ष जनककुमार खड्का लगायतका हुनुहुन्थ्यो ।

आफ्नो मन्तव्य राख्दै अतिथि का.म.पा. २ वडाका अध्यक्ष राजेन्द्रकुमार श्रेष्ठले रगत तथा यसको महत्वबारे बुझाउंदै स्वस्थ तथा योग्य व्यक्तिहरूले नियमित रक्तदान गर्न आह्वान गर्नुभयो । साथै महानगरपालिकाले रक्तदानको क्षेत्रमा विभिन्न सहयोगहरू पुर्‍याउंदै आइरहेको जानकारी दिनुभयो ।

कार्यक्रमका सभापति ई. सानु बाबु प्रजापतिले ब्लोदानले विगत तीन दशक भन्दा अघि देखि नैं स्वयंसेवी रक्तदानको अभियानमा विभिन्न अवसर र चुनौती पार गर्दै यहाँसम्म आइपुगेको बताउनु हुँदै यस कार्यमा सबैजना निरन्तर लागिरहनु पर्ने बताउनु भयो ।

त्यस्तै अन्य वक्ताहरूले जनमानसमा रक्तदान सम्बन्धी जनचेतना फैलाउन यस्तो कार्यक्रम महत्वपूर्ण रहेको बताउँदै यस पुनित कार्यमा सबैजना लाग्नुपर्ने बताउनु भयो ।

ब्लोदानका केन्द्रीय अध्यक्ष ई. सानु बाबु प्रजापतिले आफ्नो प्रस्तुतिमा ब्लोदान के हो ? यस संस्था स्थापना र उद्देश्यबारे प्रकाश पार्दै विरामीलाई उपचारको क्रममा रगतको आवश्यक भएमा स्वस्थ व्यक्तिले रक्तदान गर्नु बाहेक अर्काे विकल्प नरहेको बताउनु भयो । साथै रक्तदान किन गर्नु पर्छ र कस्तो व्यक्तिले गर्न सकिन्छ भन्ने विषयमा प्रष्ट पार्नुभयो ।

नेपाल रेडक्रस सोसाइटी, केन्द्रीय रक्तसंचार सेवाका जनसम्पर्क अधिकृत राम श्रेष्ठले आफ्नो प्रस्तुतिमा विरामीहरुको उपचारको क्रममा रगत आवश्यक पर्नसक्ने अवस्था र त्यसको लागि प्रयोग हुने रक्ततत्व तथा भण्डारण एवं अन्य प्राविधिक विषय उल्लेख गर्नुभयो ।

स्थानीय संघसंस्थाका महिलाहरूको उल्लेख्य सहभागिता रहेको सो कार्यक्रममा अन्य विभिन्न संघसंस्थाका प्रतिनिधिहरूको सहभागिता रहेको थियो ।

कार्यक्रम ब्लोदानका केन्द्रीय सदस्य बालकृष्ण श्रेष्ठले संचालन गर्नुभएको थियो भने स्वागत मन्तव्य ब्लोदान काठमाडौं जिल्ला मध्य क्षेत्रका उपाध्यक्ष मचाकाजी महर्जनले राख्नु भएको थियो । त्यस्तै कार्यक्रमको तयारीका लागि आवश्यक समन्वय ब्लोदान काठमाडौं जिल्ला मध्य क्षेत्रका सचिव दिनेश महर्जनले गर्नुभएको थियो ।

Search Blood Group

Male       Female

उपयोगी लिङ्कहरू